भोजपुर : हतियारसहित पक्राउ परेका नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जिल्ला सेक्रेटरी बम विष्टलाई सार्वजनिक प्रहरीले गरेको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरले सोमबार पत्रकार सम्मेलन गरेर विष्टलाई सार्वजनिक गरेको हो ।
उनलाई आइतबार दिउँसो भोजपुर नगरपालिका–१०, भैसीपंखाको गजुरमुखी भिर नजिकको जंगलबाट हतियारसहित पक्राउ गरेका प्रहरीले जनाएको छ । उनको साथबाट ६ राउण्ड र चार राउण्ड गोली भरिएको इटालियन स्वचालित पेस्तोल दुई थान, ह्याण्ड ग्रिनेड एक थान बरामद भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरले जानकारी दिए ।
प्र.ना.उ. मगरका अनुसार १२ वटा सिमकार्डसहित दुई वटा मोबाइल, चन्दाको माग गर्दै लेखिएका पत्र र पार्टीका पर्चाहरु पनि फेला परेको छ । पछिल्लो समय नगर क्षेत्रमा चन्दा आतंक गर्ने तथा आपराधिक घटना घटाउने योजनाअनुसार प्रतिबन्धित विप्लव समूहका कार्यकर्ताहरु हातहतियारसहित घुमफिर गरीरहेको सुचना प्रहरीलाई प्राप्त भएको श्रोतले जनाएको छ । विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले भैसीपंखामा रहेको अँधेरी खोला नजिकै चेक गर्ने क्रममा विष्टलाई शंकास्पद अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका विष्टलाई जिल्ला अदालत भोजपुरबाट आइतबारबाट लागु हुने गरी हातहतियार खरखजना तथा विस्फोटक पदार्थसम्बन्धी कसूरमा मुद्दा दर्ता गरी थप अनुसन्धान सुरु गरिएको प्रहरी नायव उपरिक्षक मगरले जानकारी दिए ।