उदयपुर : अविरल वर्षाको कारण माथिल्लो सगरमाथाको तीन जिल्ला जोड्ने सडक अबरुद्ध बनेको छ । तीन जिल्लालाई राजधानी काठमाडौं र तराईसँग जोड्ने मध्यपहाडी र सिद्धिचरण राजमार्ग अवरुद्ध भएपछि यातयात ठप्प भएको हो ।
प्रदेश १ मा पर्ने खोटाङ, ओखलढुँगा र सोलुखम्बुको मुख्य मार्ग पर्ने मध्यपहाडी र सिद्धिचरणलोकमार्ग अवरुद्ध भएपछि यातयात ठप्प भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तीन दिन देखि निरन्तर परेको वर्षाका कारण सडकको विभिन्न खण्डमा पहिरो गएको छ । धेरै ठाउँमा सडक भत्किएको र बुधबार बिहानै देखि खोलाहरुमा बाढी आएकाले सवारी आवगमन ठप्प भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले जानकारी दिए । उनका अनुसार सोलुखम्बु, ओखलढुंगा र खोटाङ्ग समस्यामा परेका छन् । ‘सोलुखुम्बुको तिङ्लामा झरेको पहिरो पन्छाएर सवारी आवगमन भयो” उनले भने, ‘ ओखलढुंगाको भडारे खोला, उदयपुरको बादुरा र सिन्धुलीको सोखु खोलामा आएको बाढीले सडक अवरुद्ध बनाएको छ ।’
सोलुखुम्बुका ट्राफिक प्रहरी इन्चार्ज सञ्जीव चौधरीका अनुसार बुधबार बिहानै देखी जेसिबीको सहायताले सडक खलाउने प्रयास दिउसो सफल भएको थियो । “सोलुखुम्बुबाट काठमान्डौ छुटेका ३ वटा जीप भने पुन सल्लेरी फर्केर बसेका छन् ।” इन्चार्ज चौधरीले भन्ने, “जिल्लाबाट गएपनि ओखलढुंगामा खुलेको छैन उता पनि बाटो उस्तै छ ।”
उदयपुरको घुर्मी बजारमा नजिकै सडकमा पहिरो गएको छ । सिद्धिचरण राजमार्गको घुर्मी(कटारी र मध्यपहाडी राजमार्गको घुर्मी–खुर्कोट सडकमा खण्डमा अवरुद्ध भएको छ । जाने(आउने सवारी सबै रोकिएपछि यात्रु समेत अलपत्र परेका छन । घुर्मी बजार आसपासको अवरोध हटाउने प्रयास भईरहेको घुर्मी प्रहरीले जानकारी दिएको छ ।