सुबास दर्नाल-
सोलुखुम्बु : बागबानी केन्द्र स्थापना भएको लामो समयपछि फलफुल तथा तरकारी विक्रि कक्ष स्थापना गरिएको छ । जसको मंगलबार जिल्लाका सांसदलाई तरकारी खरिद गराएर उद्घाटन गरिएको हो ।
प्रतिनिधि सभा सदस्य हेमकुमार राई, प्रदेश सभा सदस्यद्धय उत्तम कुमार बस्नेत र बुद्धि कुमार राजभण्डारीलाई सयुक्त रुपमा तरकारी तथा फलफुल खरिद गराएर विक्रि कक्षको उद्घाटन गरिएको बागबानी केन्द्र फाप्लुले जनाएको छ । प्रदेश नम्बर १ का १० जिल्लाको एक मात्र बागबानी केन्द्र फाप्लुमा उत्पादन भएका तरकारी तथा फलफुललाई अबदेखी बिक्रि कक्षमा राखीने केन्द्र प्रमुख चन्द्रमान श्रेष्ठले जानकारी दिए । नयाँ कामको थालनी गर्दा रिबन काट्ने तथा पानसमा बत्ति बाल्ने चलनलाई विस्थापन गर्दै बागबानीले नयाँ चलनको थालनी गरेको हो । विक्रि कक्षमा काउली, बन्दा, आलु, मुला, गोलभेडा, खुसार्नी, भेन्टा, काक्रो, लगायतका तरकारी सहित स्याउ समेत राखिएको छ ।
सासंदहरुले सुरुवात गरेकोे उक्त विक्रि कक्षमा प्रमुख जिल्ला अधिकारी बेदनिधि खनाल, समन्वय प्रमुख विर कुमार राई लगायतले तरकारी खरिद गरी औपचारिक सुरुवात गरेका हुन् । यस अघि बिक्रि कक्ष नहुँदा तरकारी किनबेचको लागि केही असहज हुने उपभोक्ताले बताउँदै आएका थिए । कुन कुन तरकारी कति मुल्यको पाईन्छ भन्ने समेत अबदेखी सहजै थाहा पाउँने बताईएको छ ।
केन्द्रले निर्धारण गरेको मुल्य सुची
स्याऊ प्रति केजि रु.१००
काउलि प्रति केजि रु.८०
बन्दा प्रति केजि रु.५०
मुला प्रति केजि रु.२५
गोलभेडा प्रति केजि रु.१००
भेन्टा प्रति केजि रु.६०
खोसार्नी प्रति केजि रु.१५०
काक्रो प्रति केजि रु.८०
आलु प्रति केजि रु.३०