संविधान दिवसको अवसरमा एक दिन सरकारी स्वास्थ्य संस्थामा निःशुल्क सेवा प्रवाह गर्ने भएको छ । आगामी असोज २ गते देशभरका सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाले निःशुल्क सेवा प्रवाह गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
असोज ३ गते पर्ने संविधान दिवस भव्यताका साथ मनाउने निर्णय गरेको स्वास्थ्य मन्त्रालयले त्यसको अघिल्लो दिन आफू मातहतका संस्थाको बहिरंग (ओपीडी) सेवाको टिकट निःशुल्क गर्न लागेको जनाएको छ । सरकार मातहतका देशैभरिका अस्पताल र स्वास्थ्य संस्थाले ओपीडी सेवाका लागि शुल्क लिएर टिकट काट्ने गरेका छन् । अस्पताल अनुसार फरक–फरक शुल्क लिने अस्पतालले एक दिन निशुल्क गर्नुपर्नेछ । जसको लागि सम्बन्धित सबैलाई सर्कुलर गरिसकेको मन्त्रालयको भनाइ छ । ओपीडी निःशुल्क भए पनि अन्य सेवा भने पूर्ववत् प्रवाह हुने मन्त्रालयले जनाएको छ ।