काठमाण्डौ : बंगालको खाडिबाट अएको जलवाष्प युक्त हावाको प्रभावका कारण देशभर मौसमी गतिविधि बढिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज मंगलबार पनि देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने मौसमविद्को अनुमान छ ।
मनसुन सक्रिय भएकाले धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । एकैछिन मौसम खुले पनि एकैछिनमा बदली हुने उहाँको अनुमान छ । भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भागमा बनेको न्यूनचापीय प्रणालीका कारण मौसममा परिवर्तन आएको महाशाखाले जनाएको छ । साथै, मनसुनी न्यून चापीय रेखा (मनसुनी समयमा वर्षा गराउने प्रणाली) को पश्चिमी भाग औसत स्थानको आसपासमा रहेको र पूर्वी भाग औसत स्थानभन्दा थोरै उत्तरतर्फ सरेकाले पनि मनसुनी गतिविधि केही सक्रिय भएको महाशाखाले महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बुधबार देशभरी सामान्य बदली रही मध्य र पूर्वी भूभागका धेरै ठाउँमा तथा पश्चिमका केही ठाउँमा चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बुधबारको पनि मौसम यस्तै किसिमको रहने र बिहीबारदेखि मौसम सुधार हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।