माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनी प्रकरणमा मुछिएर धरौटीमा रिहा भएका सञ्चारकर्मी रवि लामिछानेको समर्थनमा मंगलबार नारायणी नदी तटमा हजारौं मान्छे उपस्थित भए ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्लामा रवि लामिछानेको समर्थनमा सम्भवतः हालसम्मकै सबैभन्दा ठूलो सभा भयो । सायद प्रचण्डको सभामा पनि यति मान्छे उपस्थित हुने गरेका थिएनन् ।
हजारौं मान्छेको भीडमा चर्चित सञ्चारकर्मी रवि लामिछानेले राजनीतिक नेतृत्वको आ लोचना गरे। हालको सरकार र सत्ता प्रचण्डकै वरिपरि चलिरहेको बेला प्रचण्डप्रति वितृष्णा हुने गरी उनकै गृहजिल्लामा ठूलो सभा भएको छ ।रवि लामिछाने प्रहरी हिरासतमा रहेका बेला समेत रविको समर्थन र सरकारको विरोधमा नाराबाजी लागेका थिए ।
उनकै गृहजिल्लामा प्रचण्डका विरुद्ध समेत नाराबाजी लाग्यो । रवि लामिछाने प क्राउ परेपछि चितवनमा प्रचण्डको छवि बिग्रियो । कतिपयले रविलाई फसाउन खेल प्रचण्डले नै गरेको गम्भीर आरोप समेत लगाएका छन् ।प्रचण्डमाथि आरोप लागिरहेको र सरकारप्रति वितृष्णा बढिरहेको अवस्थामा रवि लामिछानेले आवश्यक भएमा राजनीतिमा समेत आउने संकेत गरेका छन् । कथम्कदाचित रवि लामिछाने चितवनबाटै प्रचण्डसँग लड्न उम्मेदवार बनेमा प्रचण्डमाथि ठूलो संकट आइलाग्ने छ ।
चितवनको भरतपुरमा मंगलबार बिहान पत्रकार सम्मेलन गरेर लामिछानेले मिडियाबाट समाज परिवर्तन गर्न कठिन भयो भने राजनीतिमा जान पनि तयार रहेको संकेत गरेका छन् । रवि लामिछानेलाई देशको उच्च (प्रधानमन्त्री) पदमा पुग्नुपर्छ भन्ने जनताको जिज्ञासा छ नि भन्ने प्रश्नको जवाफमा लामिछानले राजनीतिमा जानका लागि आफूले अहिले चुकुल लगाएको तर ताला भने नलागएको स्पष्ट पारेका थिए ।
‘अहिले तत्काल राजनीतिमा आउनेभन्दा पनि अहिले भएका नेताहरू र पार्टीलाई इमान्दार बनाउने काम गर्ने पक्षमा म छु,’ लामिछानेले भने । जनताको भोट लिएर आएका नेताहरूले आफ्नो धरातल बिर्सन नहुने लामिछानेले बताए । उनले आफूले सञ्चार क्षेत्रबाट त्यो काम गर्ने बताएका छन् ।
आफू अब अझ थप बलियो भएर आउने लामिछानेले बताएका छन् । उनले आफूले पैसाका लागि यो पेशामा नआएको भन्दै जसले पैसा खाएको आरोप लगाएका छन् उनीहरूलाई आरोप प्रमाणित गर्न चुनौती दिएको बताएका छन् ।
‘आजको दिनमा म सत्य, तथ्य र निष्पक्ष बाटोमा छु,’ लामिछानेले भने, ‘कसैसँग व्यक्तिगत रिसइबी छैन ।’ उनले आउने दिनमा जनताको सानाभन्दा साना कुरालाई मिडियामा ल्याइदिने प्रतिवद्धता जनाएका छन् । ‘ठूला मिडियामा कहिल्यै पनि पीरमर्कामा परेका जनताको पीडा कहिल्यै पनि आएनन्,’ उनले भने, ‘ती पीडालाई मैले आगामी दिनमा झन् स्थान दिनेछु ।’