विमानस्थलको अवलोकनपछि मन्त्री भट्टराईले भने– चिनियाँ ठेकेदारलाई रथमा राखेर पोखरा घुमाउनू

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निर्धारित समय अगावै विमानस्थल निर्माण कार्य सम्पन्न गरेमा ठेकेदारलाई रथमा राखेर पोखरा घुमाउन भनेका छन् । पोखरामा निर्माणाधीन अवस्थामा रहेको पोखरा क्षेत्रीय अन्र्ताष्ट्रिय विमानस्थलको निरीक्षणपछि मन्त्री भट्टराईले समयावधिभन्दा अगाडि नै काम सकेमा चिनियाँ ठेकेदारलाई सम्मानका लागि रथमा राखेर पोखरा घुमाउन पोखरेलीलाई भनेका हुन् ।

विमानस्थलको पछिल्लो भौतिक प्रगतिबारे जानकारी लिएका मन्त्री भट्टराईले पनि उनले भने, ‘घर परिवार छोडेर महिनौँदेखि हाम्रो विकासका लागि खटिनु भएको छ, म पोखरा महानगरलाई पनि आग्रह गर्छु । चिनियाँ कम्पनीले समय अगावै विमानस्थलको काम सकेपछि रथमा राखेर पोखरा परिक्रमा गराउनुपर्छ ।’

सबैको सहयोग भएमामात्रै चाँडै निर्माण कार्य सकिने बताएका मन्त्री भट्टराईले प्रभावित क्षेत्रका बासिन्दाहरुलाई रोजगारसहित विभिन्न अवसर प्रदान गर्ने जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ वैशाख १ गते शिलान्यास गरेको सो विमानस्थल चिनियाँ ठेकेदार कम्पनी सिएमसिईले निर्माण गरिरहेको छ ।

नेपाल सरकारसँग गरेको सम्झौताअनुसार सिएमसिईले सन् २०२१ जुलाई १० मा सम्पन्न गरी विमानस्थल हस्तान्तरण गर्नुपर्ने छ । सन् २०१७ को नोभेम्बरदेखि विमानस्थलको निर्माण सुरु गरिएको हो। निर्माणाधीन सो विमानस्थल करिब २२ अर्ब चिनियाँ ऋण सहयोगमा बन्न लागेको हो ।

विमानस्थल आयोजना प्रमुख विनेस मुनकर्मीले हालसम्म ४५ प्रतिशत भौतिक संरचना लगायतको काम सम्पन्न भइसकेको बताएका छन् । उनकाअनुसार जग्गा अधिग्रहणको विषय ९५ प्रतिशत सम्पन्न भइसकेको र बाँकीको लागि प्रक्रिया अघि बढाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार