रवि लामिछानेले आफूले कसैबाट समाचारका लागि पैसा लिएको साबित भए पत्रकारिता छाड्न तयार रहेको बताएका छन् । चितवनमा मंगलबार गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले आफूले कोही कसैबाट पनि समाचारका लागि पैसा नखाएको दाबी गरेका हुन् ।
आरोप लगाउनेहरुसँग आफ्नो स्टुडियोमा प्रत्यक्ष बहस गर्न तत्पर रहेको बताउँदै , ‘आरोप लगाउनेहरु मेरो स्टुडियोमा आउनुहोस्, लाइभ बहस गर्न सक्छु । म लगायत मेरो टीमको कसैले पनि कहाँ–कहिले पैसा खायो भनेर प्रमाणित गरिदिनुहोस् । म यो पत्रकारिता जस्तो पवित्र पेसामा बस्दिनँ ‘ उनले भने ।
लामिछानेले आफू २–४ करोड कमाउनका लागि आफ्नो ज्यान हत्केलामा नराखेको पनि पुष्टि गरे । ‘पैसाको लोभ हुँदो हो भने यो जीवन छान्ने थिइनँ,’ उनले बताए ।
उनले आफूले पाएको साथ र समर्थनलाई ऋणको रुपमा लिएको बताउँदै उनले भने, ‘यसले हामीलाई निदाउन दिने छैन ।’