चितवनको कंगारु होटलमा झु न्डिएको अवस्थामा मृत भेटिएका माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीले ‘गर्लफ्रेन्ड’ भेट्न छुट्टै कोठा लिएको नयाँ तथ्य फेला परेको छ ।
श्रीमती सम्झना घिमिरेसँग बालाजु माछापोखरीमा कोठा लिएर बस्दै आएका पुडासैनीले बिदा र फुर्सदको समयमा प्रेमिकालाई भेट्न टोखा नगरपालिका वडा नं. ११ महादेवटारकी गोमा न्यौपानेको घरमा कोठा भाडामा लिएको फेला परेको हो ।
महानगरीय प्रहरी परिसर टोलीले पुडासैनीको कोठाबाट पुडासैनी र उनकी प्रेमिकाको फोटोसहित केही कागजात बरामद गरेको छ ।
प्रहरीले टोखा नगरपालिका वडा नं. ११ का वडाध्यक्ष उत्तम अधिकारीको रोबहरमा गत बिहीबार कोठा खोलेर खानतलासी गरेको थियो।
पुडासैनीले एकजना केटीसँग खिचेको फोटो, लालपुर्जा, सेयर प्रमाणपत्र, सुन किनेको बिललगायत सामग्री बरामद गरेको रोबहरमा बसेका वडाध्यक्ष अधिकारीले बताए।
‘प्रहरीले खबर गरेपछि गएका हौं,’ अधिकारीले भने, ‘कोठामा पुडासैनीसहित एक केटीको फोटोसहितका कागजात प्रहरीले बरामद गरेको छ।’
प्रहरीले उक्त फोटो पुडासैनीले आरोप लगाएकी अस्मिता कार्कीको हो या अन्य कसैको हो, खुलाउन चाहेन। महानगरीय प्रहरी परिसरका एसएसपी उत्तम सुवेदीले अनुसन्धानमा रहेको विषयमा बोल्न नमिल्ने बताए।
‘अनुसन्धान सकिएपछि सबै विषय प्रस्ट बाहिर आउँछ,’ सुवेदीले भने, ‘अनुसन्धान भइरहेको विषयलाई मिडियाले पनि बाहिर नल्याउँदा राम्रो।’
पुडासैनीले कोठा भाडामा लिँदा आफू कलेज पढ्ने र काम गर्ने भएकाले कहिलेकाहीं बस्ने बताएका थिए। पछि घरधनीले पत्रकार भएको थाहा पाएका थिए। कोठा खोज्न पुडासैनी एकजना केटी लिएर आएको न्यौपानेले बताइन्। ‘कोठा खोज्न आउँदा एकजना केटी साथी थिई,’ न्यौपानेले भनिन्, ‘को हो, सोधिएन।’ कोठा खाली भएकाले भाडामा दिएको उनले बताइन्। पुडासैनीले दुई महिनादेखिको भाडासमेत तिर्न बाँकी छ। उनले प्रतिमहिना चार हजार रुपैयाँ तिर्दै आएका थिए। गलफ्रेन्ड भेट्न भाडामा कोठा लिएको विषय प्रहरीले बाहिर ल्याएको छैन।