धानमन्त्री केपी शर्मा ओली बिहीबार उपचारका लागि सिंगापुर आनुअघि बसेको नेकपा सचिवालय बैठक‘अप्रिय’ बन्यो। बैठकमा ठोस एजेन्डाबारे छलफल भएन। पार्टी अध्यक्ष ओली र वरिष्ठ नेपाल माधवकुमार नेपालबीचको चर्काचर्कीका कारण अरु विषयले प्रवेश नै पाउन सकेन। केपी ओली : (नेकपा सचिवालय बैठक प्रारम्भ गर्दै) आज एजेन्डामा छलफल हुन्न। बैठकले मेरो स्वास्थ्यलाभको कामना गरोस्। म तपाईंहरूका शुभकामना लिएर उपचारमा जान्छु। मैले आफू नभएका बेला अब पार्टीको बैठक बस्ने र निर्णय लिने गरी प्रचण्डजी (पुष्पकमल दाहाल) लाई जिम्मा दिएको छु। उहाँ (दाहाल) ले म नहुँदा पनि बैठक राख्न सक्नुहुन्छ। आवश्यक निर्णय पनि लिन सक्नुहुन्छ। पार्टीका बाँकी एकताका काम टुग्याउँदै जानुहोस्। सबै निर्णय सहमतिका आधारमा गर्नुहोस्। आवश्यक पर्दा मसँग पनि टेलिफोन सम्पर्क गर्न सकिन्छ। तपाईहरू मिलेर पार्टीलाई सर्वसम्मत ढंगले चलाउँदै गर्नुहोस्।
माधव नेपाल :कुनै पनि हालतमा सर्वसम्मत हुँदैन। सबै निर्णय एकलौटी गरेर कसरी सर्वसहमति ? असहमतिकै बीचमा तपाईहरूले थुप्रै निर्णय गर्नुभएको छ। अबचाहिँ कसरी सहमति ? मैले आफ्नो असहमतिका कुरा लिखित रूपमा रखिसकेको छु। त्यसलाई पनि प्रस्तावका रूपमा छलफल गरेर लैजाऔं। अरूलाई अनेकथरी भन्नुहुन्छ। तपाईका निकटका मान्छेले चाहिँ जे पनि बोल्न र लेख्न मिल्छ ? उनीहरूलाई अनुशासन लाग्दैन ? मैले पार्टीमा आफ्ना कुरा राख्नसमेत नपाउने ? मैले नोट अफ डिसेन्ट राखेपछि राजेन्द्र गौतमले फेसबुकमा के लेखेको त्यसरी ? हेर्नुभएको छ ? तपाईंका मान्छेलाई किन कारबाही नगर्ने ? कारबाही गर्नुहोस्।
दाहाल :प्रधानमन्त्री आज सिंगापुर जाँदै हुनुहुन्छ। अहिले आवेश, आक्रोश होइन, संयम अपनाऔं। प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गरौं। म प्रधानमन्त्रीलाई स्वास्थ्यलाभको कामना गर्छु। छिट्टै पार्टीको एजेन्डामा छलफल गर्नका लागि प्रधानमन्त्रीले भनेझैं पार्टीको बैठक बोलाउँछु। छलफल, बहस गर्दै सहमतिकै आधारमा हामीले पार्टी सञ्चालन गर्ने हो। आवश्यक पर्दा प्रधानमन्त्रीसँग पनि छलफल गर्छु नै। अन्य विषयमा पनि तपाईंहरू सबै नेताहरूसँग आवश्यक परामर्शका आधारमा निर्णयमा पुग्ने प्रयास हुन्छ। मिलेरै पार्टीलाई अगाडि लैजानुको विकल्पै छैन।
नेपाल : तपाईको स्वास्थ्यका बारेमा मैले कहाँ नकारात्मक टिप्पणी गरें ? एउटा मात्र प्रमाण जुटाइदिनुहोस्। म त्यत्तिसम्म हृदयविहीन र निष्कृष्ट मान्छे होइन। छानबिन गरौं।
ओली : तपाई कहाँको विधिको कुरा गर्नुहुन्छ ? पार्टीमा तपाईको कुरा (असहमतिपत्र) बुझाउँदै–नबुझाई मिडियामा किन पहिले बुझाएको ? के यही हो तपाईको विधि र प्रक्रिया ? मिडियामा पहिले फरक मत बाँड्ने अनि पार्टीमा बुझाउन ल्याउने। त्यसमा कुनै छलफल हुँदैन। कोही अहिले सचिवालयमा थपिँदैनन्। अन्नपूर्ण पाेस्टमा खबर छ।