रसिया विश्वकप : खेलमा भन्दा सुन्दर महिलातर्फ क्यामेराको फोकस रहेको भन्दै फिफाले गर्यो मिडीयाकर्मिलाई सचेत !

काठमाडौं, २९ असार । हरेकजसो विश्वकप खेलभन्दा बाहिरका विषयले पनि चर्चा पाउँछ । रुसमा जारी विश्वकप पनि यसबाट अछुतो रहेन । रुस विश्वकप यौनकर्मी महिला र महिला दुर्व्यवहारका घटनाका कारण पनि चर्चामा छ । विश्वकप फुटबल शुरु हुनुअघि खेलाडीमाथि हुने रङ्गभेदी दुर्व्यवहारका घटनामा विशेष सतर्कता अपनाउन आयोजक रुसलाई आग्रह गरिएको थियो ।

त्यतिबेला विश्वकप तयारीमा रहेका देशका खेलाडीमाथि रुसमा रङ्गभेदी व्यवहार गरिएको गुनासो पनि चर्चामा थियो । अभ्यास खेलका क्रममा कतिपय देशका खेलाडी र समर्थकले प्रतिपक्षी खेलाडीमाथि रङ्गभेदी दुव्र्यवहार गरेको भन्दै विश्व फुटबल महासंघ (फिफा) ले कतिपय राष्ट्र फुटबल संघलाई जरिवाना पनि तिराएको थियो ।

समग्रमा रुस विश्वकपमा रङ्गभेदको विषय उत्कर्षमा पुग्ने र त्यसलाई समाधान गर्न आयोजकसँगै फिफालाई पनि हम्मेहम्मे पर्ने अनुमान गरिएको थिया । तर, फिफा र आयोजकले आकलन गरे जस्तो रुस विश्वकपका क्रममा रङ्गभेदका घटना खासै चर्चामा आएनन् । त्यसको विपरीत महिला दर्शक र समर्थकमाथि यौन दुव्र्यवहाका घटनाले भने जारी विश्वकपमा निकै चर्चा पायो ।

जारी विश्वकपमा महिलामाथि दुर्व्यवहारका घटना बढेको ठहर फिफाअन्तर्गत रहेको भेदभावविरुद्ध सल्लाहकार समितिले पनि गरेको छ । ‘विश्वकपका क्रममा अधिकांश पुरुष समर्थक र ब्रोडकास्ट च्यानलहरूले महिलामाथि अस्वाभाविक क्रियाकलाप गरिरहेको जनाइएको छ । रङ्गशाला र सडकमा मात्र ३० जना महिलामाथि यौन दुर्व्यवहारका घटना भएका छन् । समर्थकले महिलालाई हेप्ने र यौनजन्य क्रियाकलाप गर्ने गरेको पाइएको छ । टेलिभिजन च्यानलले पनि आकर्षक महिलालाई फोकस गर्दै बारम्बार तस्बिर खिच्ने र उनीहरूलाई मात्र देखाउने काम गरिरहेका छन्,’ समितिका संयोजक फेड्रिको अडैचीले भने ।

विश्वकपमा संसारभरका दर्शक आउने भएकाले पनि उनीहरूको स्वभाव र लक्ष्य थाहा पाउन आयोजकलाई गाह्राे छ । विश्वकपकै क्रममा सर्विया, रुस र पोल्याण्डका समर्थकले रङ्गभेदलाई प्रोत्साहन गर्ने खालको ब्यानर देखाएका कारण फिफाले १० हजार स्विस फ्याङ्क जरिवाना पनि गरेको थियो । जारी विश्वकप उत्तराद्र्धतर्फ बढिरहँदा रङ्गशालामा मिडिया र दर्शकको चाप पनि बढ्दै गएको छ । तर, मिडिया र समर्थकको ध्यान फुटबल र खेलाडीको प्रदर्शनभन्दा पनि सुन्दरी महिला समर्थकमाथि बढी गएको देखिन्छ । ब्रोडकास्ट च्यानलहरूले क्यामराको जुम तन्काउँदै सुन्दरी महिलाको फोटो र भिडियो खिच्ने र त्यसलाई बारम्बार देखाउने क्रम बढेपछि फिफाले त्यसो नगर्न सचेत गराएको छ । -एजेन्सी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार