काठमाडौ । एक मुखे रुद्राक्षको बारेमा त तपाइले सुन्दै आउनु भएको होला । थाहा छैन भने एक मुखे रुद्राक्षको धारणले धन ‘लाभ’ हुन्छ । यही मान्यताका कारण एक मुखे रुद्राक्ष बहुमुल्य बनेको हो । एक मुखे रद्राक्षको दर्शनले नसोचेको ठाउँबाट धन “लाभ” हुन्छ । एकमुखे रुद्राक्ष यसको वर्णन शिवपुराणको रुद्राक्ष महात्म्यमा पाउन सकिन्छ । यसलाई शिवको प्रतीक मानिन्छ । अत्यन्तै दुर्लभ तर शक्तिशाली हुनाले यसलाई अनमोल वरदान पनि मानिन्छ । विश्वासीहरूका अनुसार, यसलाई धारण गरे सुखशान्ति, समृद्धि, ऐश्वर्य र बुद्धि मिल्छ । चरक संहितामा पनि यसबारे उल्लेख छ, औषधीका रूपमा ।
सिद्धियोग परेको बिहीबारका दिन आकाशबाट परेको पानी रुद्राक्षको फूलमा परी तत्काल बन्द हुँदा त्यसबाट एकमुखे रुद्राक्ष फल्न सक्छ भन्ने पनि शिवपुराणको रुद्राक्ष महात्म्यमा उल्लेख छ । लोकश्रुति अनुसार, एउटा बोटमा यस्तो रुद्राक्ष १२ वर्षमा तीनवटा मात्र फल्छन् । जसमध्ये एउटा आकाश र अर्को पातालमा जान्छ भने तेस्रोचाहिँ धर्तीमा रहन्छ । यो शिवरात्री, पूर्णिमा वा विशेष दिनमा मात्र प्राप्त हुन्छ भन्ने विश्वास रहिआएको छ ।