रियल समर्थकको रोजाईमा रोनाल्डोको विकल्प को -को परे ? (थाहा पाउनुहोस्)

म्याड्रिड, २९ असार । क्रिस्टियानो रोनाल्डो रियल म्याड्रिडका समर्थक माझ रुचाइएका खेलाडी थिए । नयाँ सिजनको सुरुवात अघि युभेन्ट्समा उनको सरुवाले कतिपय समर्थक निराश भएका छन् । पोर्चुगलका सुपर स्टार रोनाल्डोले आफुलाई क्लबको महान खेलाडीमा उभ्याएका छन् । रियललाई घरेलु वा युरोपमा उपाधि दिलाउने क्रममा रोनाल्डोले सधै त्यसको नेतृत्व गरेका थिए ।

रोनाल्डोले आफ्नो बाटो रोजिसकेका छन् । अब क्लबलाई भने उनको ठाँउ कसरी पुरा गर्ने भन्ने चिन्ता पक्कै हुनेछ । पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्टार नेयमारलाई रियलमा रोनाल्डोको विकल्पका रुपमा हेरिएको छ । तर, समर्थको रोजाइमा नेयमार नभइ पिएसजीकै अर्का स्टार अगाडि रहेका छन् ।

स्पेनिस दैनिक मार्काले रियल समर्थकमा गरिएको मत सर्वेक्षणमा पिएसजीका स्टार केलिएन एमबाप्पे शीर्षस्थानमा रहेका छन् । उनको पक्षमा ५४ प्रतिशत मत देखिएको छ । त्यस्तै रोनाल्डोको विकल्पका रुपमा चेल्सीका इडन हाजार्ड दोस्रो नम्बरमा छन् । उनी १५ प्रतिशतले रुचाइएका खेलाडी हुन् ।

१४ प्रतिशत मतका साथ नेयमार तेस्रो स्थान छन् भने चौथो स्थानमा रहेका टोटेनह्यामका ह्यारी केनको पक्षमा १० प्रतिशत मत रहेको छ । पछिल्लो समय १९ वर्षे एमबाप्पे चर्चामा छन् । जारी विश्व कपमा पनि उनको प्रदर्शन चर्चामा छ । फ्रान्सले आइतबार क्रोएसियासँग विश्व कपको फाइनल खेल्दैछ । समर्थकको मत जस्तो भएपनि नयाँ खेलाडी भित्राउने मामलामा रियल अध्यक्ष फ्लोरेन्टिनो पेरेज र नयाँ प्रशिक्षक जुलेन लोपेटेगुइले निर्णय गर्नेछन् । -एजेन्सी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार