क्याफिोर्निया (एजेन्सी) : उड्ने कार निर्माणको सपना मानिसले धेरै अघिदेखि गरेका हुन् । धेरै उपन्यास र फिल्ममा यसबारे कथा बुनिएका छन् ।
अब भने मानिसले देखेको उड्ने कारको सपना साकार हुँदै छ । धेरै कम्पनीले उड्ने कारको विकासमा अनुसन्धान गरिरहेका छन् । तीमध्ये केही कम्पनी भने परीक्षणको चरणमा छन् ।
अमेरिकाको क्यालिफोर्नियामा नयाँ खाले उड्ने कार सार्वजनिक गरिएको छ, जसलाई उडाउन पाइलटको लाइसेन्स आवश्यक पर्दैन ।
ब्ल्याकफ्लाई नाम दिइएको यो कार १० किलोमिटर प्रतिघण्टाको गतिमा ४० किलोमिटरसम्म उड्न सक्छ । यसलाई निर्माण गर्ने कम्पनीका अनुसार भविष्यमा यो कार गुड्ने खालको स्पोर्ट्स कारकै मूल्यमा उपलब्ध हुनेछ तर सुरुवाती अवस्थामा भने यो केही महँगो पर्नेछ ।
गुगलका सहसंस्थापक ल्यारी पेजको लगानी रहेको अर्को स्टार्ट अप कम्पनी किटी हकले पनि लस भेगसमा व्यक्तिगत रूपमा उडाउन मिल्ने हवाईजहाजको परीक्षण गरिरहेको छ । अन्य केही कम्पनी पनि यस्ता खालका उड्ने कार विकासमा जुटिरहेका छन् ।
ब्ल्याकफ्लाईलाई ओपेनर नामक कम्पनीले निर्माण गरेको हो । यसलाई क्यालिफोर्नियामा परीक्षण गर्नुअघि क्यानडामा परीक्षण गरिएको थियो । क्यानडाको उड्डयन प्राधिकरणले यसलाई उडानका लागि अनुमति दिइसकेको छ । यो खबर आजको ‘कान्तिपुर’ राष्ट्रिय दैनिक अखबारमा प्रकाशित छ।
किटी हकजस्तै ब्ल्याकफ्लाईलाई सम्भवत: उड्ने कारभन्दा पनि मानिसलाई बोक्न सक्ने ड्रोनका रूपमा व्याख्या गर्दा उचित हुन्छ ।
ब्ल्याकफलाईले एकपटकमा एकजनालाई बोक्न सक्छ । यसका दुई पंखामा रहेको ८ वटा प्रणालीले संयुक्त रूपमा काम गर्छन्, जसले यसलाई उडाउन मद्दत गर्छ ।
यसले घाँसेमैदानबाट उड्दा र ल्यान्ड गर्दा पनि राम्रोसँग काम गर्ने उत्पादन गर्ने कम्पनीले जनाएको छ ।
अमेरिकाका परीक्षणकालीन जहाज एसोसिएसनका निर्देशक डयारेन प्लिसेन्सले ब्ल्याकफ्लाईको उडान हेर्दै भने, ‘मैले यस्तो कहिल्यै देखेको थिइनँ ।’
यसलाई निर्माण गर्ने कम्पनी ओपेनरका अनुसार यो कार उडाउन पाइलट लाइसेन्स आवश्यक पर्दैन तर कसैले चलाउन चाहेमा सुरक्षाका लागि तालिममा भने सहभागी हुनुपर्छ ।
अमेरिकाको संघीय उड्डयन प्रशासनको नियमअनुसार आवश्यक नभए पनि ब्ल्याकफलाईका चालकले निजी पाइलट लिखित परीक्षा र कम्पनीले दिने सवारीको जानकारीसम्बन्धी तालिम पूरा गर्नुपर्छ, कम्पनीले भनेको छ ।
यो उड्ने कारले यसको चालकलाई आनन्द दिने कम्पनीका प्रमुख कार्यकारी मार्कुस लेङले भनेका छन् ।
यसलाई चलाउनेले आफूलाई आवश्यक लागेको हिसाबले प्रयोग गर्न पाउने हुनाले यसको अनुभव अविश्वसनीय हुने यसलाई परीक्षण गरेकाहरूको छ । ब्ल्याकफ्लाई स्वचालित रूपमा पनि प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।