ल क्याम्पसमा अखिलले उत्तरपुस्तिका च्यातेपछि एलएलबी भर्नाबारे अनिश्चितता !

काठमाडौं, २८ असार । बुधबार दिउँसो पौने ३ बजे आठ/दश जनाको समूह राजधानीको प्रर्दशनीमार्गस्थित नेपाल ल क्याम्पस छिरे।

उनीहरू सरासर कानून संकायका डिनको कार्यालय र परीक्षा शाखामा पुगे। डिनलाई हातमा समातेर बाहिर निकाले। कार्यालयमा ताला लगाइदिए।

लगत्तै परीक्षा शाखातिर लम्किएको समूहले जेठ १९ गते लिएको परीक्षाको उत्तरपुस्तिका च्याते।

क्याम्पसका सहयोगी उद्धव खड्कामाथि हातपात गरेर उत्तरपुस्तिका च्यात्दै उनीहरू क्याम्पसबाट बाहिरिए।

‘आफूलाई अनेरास्ववियु बताउने समूहले उत्तरपुस्तिका च्यातेका हुन्’ कानून संकायका डिन ताराप्रकाश सापकोटाले सेतोपाटीसँग भने, ‘उत्तरपुस्तिका च्यात्नुअघि उनीहरूले २१ गतेदेखि भर्ना लिने पूर्वसहमति किन कार्यान्वयन नगरेको ? भनेका थिए।’

अनेरास्ववियु, नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारीलगायत विद्यार्थी संघसंगठनका केन्द्रीय नेता, डिन र क्याम्पस प्रमुख सहभागी असार १४ को बैठकले परीक्षा नदिएका विद्यार्थीले पनि एलएलबी पढ्न पाउने सहमति गरेका थिए। जुन सहमतिविरुद्ध विद्यार्थी र प्राध्यापकहरू नै आन्दोलित भएपछि डिन कार्यालय पछि हट्दै कोटा प्रणाली नै लागू गर्ने निर्णय गरेको थियो।

कोटा प्रणाली लागू हुने भएपछि स्वतन्त्र विद्यार्थीको नाममा एक समूहले उत्तरपुस्तिका च्यातिदिएका हुन्।

पाँच हजारभन्दा बढी विद्यार्थीले तीन वर्षे स्नातक तहको पहिलो वर्षमा भर्ना हुन दिएको परीक्षाको परीक्षाफल प्रकाशित हुनु पहिले नै उत्तरपुस्तिका च्यातेपछि यो वर्ष एलएलबी पढाइ के हुन्छ? भन्ने अन्यौल थपिएको छ।

विद्यार्थी संघसंगठनको राजनीतिक खिचातानीले गर्दा सुरूमा कोटा विवाद र पछि परीक्षा नदिएकाले पनि पढ्न पाउनुपर्ने अडानले गर्दा एलएलबी भर्ना अघि बढ्न नसकेको हो।

विद्यार्थीले एक हजार ५० तिरेर परीक्षा दिएका थिए। नेपाल ल क्याम्पसमा एक शैक्षिक सत्रमा ८ सय र बाहिरका क्याम्पसमा ५ सय नबढ्ने गरी कोटा तोकिएको थियो। कानून पढ्ने चाहना गर्नेहरू धेरै भएकोले कोटा तोक्न नहुने विद्यार्थी संघसंगठनले बताउँदै आएका छन्।

उत्तरपुस्तिका च्यात्न संलग्न हुनेलाई कानून अनुसार कारबाही गर्न प्रशासनलाई आग्रह गरेको बताउँदै कानून संकायका डिन सापकोटाले कानून संकाय बोर्डको बैठक बसेर अब के गर्ने भन्ने निर्णय गर्ने बताए।

‘उत्तरपुस्तिका नै च्यातिएको अवस्थामा पुन: परीक्षा लिने वा के गर्ने भन्ने निर्णय भइसकेको छैन’ उनले भने।

अखिलका सचिव आरसी लामिछानेले भर्ना नखुलाइएको विरोधमा डिन कार्यालयमा तालाबन्दी गरिएको बताए।

‘ल क्याम्पसमा दुई समूह छ। एउटा जो पायो उसले कानून पढ्न पाउँदैन भन्ने सिण्डिकेटवाला छ, अर्को खारेज गर्नुपर्छ भन्नेछ’ उनले सेतोपाटीसँग भने, ‘हातपात गरेको, उत्तरपुस्तिका च्यातेको भन्ने मेरो जानकारीमा रहेन।’

भर्ना खुलाउन स्वतन्त्र समूहको नाममा गतिविधि भएको र त्यो समूहमा अखिल, नेविसंघ, क्रान्तिकारी सबै विद्यार्थी रहेको उनले बताए। -सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार